नेपाली हवाईक्षेत्रको बदनाम गर्न ‘परिचालित’ आन्दोलनकारी विनय यादव !
काठमाडौं– नेपाली आकाशमा लगातार दुर्घटना हुन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो आक्रामक रुप देखाइसकेको छ । क्यानले सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर न्यून भएका अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाइसकेको छ । प्राधिकरणले उडानमा प्रतिबन्ध लगाउँदै दुवै कम्पनीको उडान सञ्चालन प्रमाणपत्र (एओसी) समेत निलम्बन गरिसकेको छ ।
सुरक्षा व्यवस्थापन प्रणाली परिपालनादर अति नै न्यून भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बन गरेको हो । यसैगरी प्राधिकरणले सौर्य एयरलाइन्सको एओसीसमेत निलम्बन गरेको छ ।
यस्तै गत साउन १८ गते बसेको उच्चस्तरीय सुरक्षा समन्वय कमिटी(एजएलएससीसी) को सिफारिस अनुसार क्यानका महानिर्देशक प्रदिप अधिकारीले कमजोर सुरक्षा प्रणाली(एसएमएस) भएका वायुसेवा प्रदायक कम्पनीका जहाजलाई उडानको अनुमति नदिने निर्णय गरिसकेको छ ।
सोही कमिटीले कमजोर सुरक्षा प्रणाली भएका कम्पनीलाई विस्तार र छूट प्रदान नगर्ने, थप उडानको अनुमति नदिने, एयरलाइन्स् यातायात पायलट लाइसेन्स नभएका पाइलटलाई यात्रुवाहक जहाज उडाउन नदिने, जहाजको हरेक मर्मतपछि परीक्षण उडान गर्नुपर्ने र पहिले अनुमोदित अनुसूचित नम्बरहरूको अनुसूचित उडानहरूको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने निर्णय पनि गरेको थियो ।
यसरी क्यान हवाई उडानलाई थप सुरक्षित र विश्वसनीय बनाउन लागि परेको बेला भने केही व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि नेपाली आकाशलाई विश्वसामू बदनाम गराउन लागिरहेका छन् ।
अस्ति (भदौं २ गते) मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका थिए । विमान सञ्चालकले नेपाली आकाशमा राजनीति भइरहेको हुँदा त्यसलाई रोक्नुपर्ने माग र विद्यमान समस्या र समाधानका उपाय लगायत विषयमा प्रधानमन्धी ओलीको ध्यानकर्षण गराएका थिए ।
वायुसेवा सञ्चालकका तर्फबाट सङ्घका अध्यक्ष कार्की, उपाध्यक्ष प्रतापजङ्ग पाण्डे, बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पा सहभागी भएको उक्त छलफलका क्रममा प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले पहल गरिरहेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढेको जानकारी दिएका थिए । उनले हवाई क्षेत्रको नीति र संरचनागत सुधारका लागि सरकारले सहजीकरण गर्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
तर, त्यसको ठिक विपरीत एक समूह भने नेपालको उड्ययन क्षेत्रको व्यापक विरोध गर्दै अन्तर्राष्ट्रिय जगतमै नेपाली आकाश असुरक्षित भएको भन्दै परिचालित भएको छ । केही समयअघि सत्तारुढ नेपाली कांग्रेसका सांसद उदय शमशेर राणा र सांसद राजेन्द्र बजगाईले नेपाली आकाश असुरक्षित रहेको भन्दै सदनदेखि सामाजिक सञ्जालमा चर्को आलोचना गरेका थिए ।
अहिलेको कांग्रेस–एमाले गठबन्धन आफूहरुकै कारण भएको भन्दै बजारमा हल्ला फिजाउँदै हिँड्ने उनीहरुको समुह यसरी नेपालको हवाई क्षेत्र असुरक्षित भन्दै अन्तर्राष्ट्रिय स्तरमै बदनाम गर्न सक्रिय छ ।
आफ्नो पूरानो रिसिबी साँध्न तथा व्यक्तिगत फाइदाका लागि त्यो समूहका सदस्यहरुले हवाई क्षेत्रका लागि नेपाल असुरक्षित भएको भन्दै प्रतिनिधिसभामै भाषण गरिरहेका छन् । बिचौलिया तथा दलाल समूहबाट निर्देशित उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)माथि नै प्रश्न उठाएर दुर्घटनामाथि खेल्दै आएका छन् ।
यसैबीच भारतीय राजदूतावास र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) बाट मोटो रकम बुझेर विनय यादव नाम गरेका व्यक्ति दुई सांसदजस्तै सडकमै उत्रेर नेपाली हवाई क्षेत्रको विरोध गर्न लागिपरेका छन् । उनी आफै ‘रअ’ र भारतीय दूतावासबाट परिचालन भएको भन्दै बजारमा भन्दै हिँड्ने गरेका छन् । ‘राष्ट्रि एकता अभियान’ नाम दिएर उनकै नेतृत्वमा कहिले काठमाडौं, कहिले भैरहवा त कहिले पोखरामा सडक आन्दोलन भइरहेको छ ।
विरगञ्ज घर भएका उनी सडकको ठेक्का लिँदै आएका छन् । तर अहिले भने व्यक्तिगत फाइदाका लागि उनले बाहिर भनेजस्तै भारतीय दूतावासबाट ‘गोजी गरम’ गरेर नेपाल सरकार र नेपाली हवाई क्षेत्रको विरुद्धमा लागिरहेका छन् । उनको त्यस्ता राष्ट्रहित विपरीतका गतिविधीका कारण नेपाली सेनाको आन्तरिक गुप्तचरी निकाय डीएमआईले उनलाई उच्च निगरानीमा राखेको स्रोतले बताएको छ ।
विनय यादवले भने कागजपत्रसँग आफूमाथि लागेको आरोप गलत भएको बताएका छन् । उनले आफू विगत ४ वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा आन्दोलन गरिरहेको बताउँदै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई निलम्बन गराइछाड्ने दाबी गर्छन् । ‘रअ’ र भारतीय रातदूतावासबाट परिचालित भन्ने आरोप लागेकोबारे सोध्दा उनले झर्किदै भने, ‘कसले भन्यो तपाईंलाई ? म आफ्नो देशको लागि काम गर्दैछु, आफ्नो मातृभूभिका लागि काम गर्दैछु । यसमा अर्को देशको दूतावासलाई जोड्नुपर्ने के कुरा छ ? हामी क्यानका महानिर्देशकलाई निलम्बन गराइछाड्ने हो ।’ उनले आगामी दिनमा पनि आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।
तर, विश्वसनिय स्रोतको दाबी अनुसार यादव आफैं बजारभरी आफू भारतीय राजदूतावासको आग्रहमा आन्दोलन गरिरहेको भन्दै हल्ला पिट्दै आएका छन् ।
यो पनि:
सुनियोजित रुपमा नेपाली हवाईक्षेत्रको बदनाम गर्न लागिपरेका दुई सांसद
प्राधिकरणको निर्णय– कमजोर सुरक्षा प्रणाली भएका कम्पनीका जहाज उडाउन नपाइने
एक्सनमा नागरिक उड्डयन, अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरको उडानमा प्रतिबन्ध