प्राधिकरणको निर्णय– कमजोर सुरक्षा प्रणाली भएका कम्पनीका जहाज उडाउन नपाइने
काठमाडाैं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कमजोर सुरक्षा प्रणाली(एसएमएस) भएका वायुसेवा प्रदायक कम्पनीका जहाजलाई उडानको अनुमति नदिने निर्णय गरेको छ । यहि १८ गते बसेको उच्चस्तरीय सुरक्षा समन्वय कमिटी(एजएलएससीसी) को सिफारिस अनुसार क्यानका महानिर्देशक प्रदिप अधिकारीले यस्तो निर्णय गरेका हुन् ।
मंगलबार सबै वायुसेवा प्रदायक कम्पनीलाई पत्र लेख्दै क्यानले उक्त निर्देशन पालना गर्न भनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइसिएओ) सेफ्टी प्लान (२०२० देखि २०२२ संस्करण) अन्तर्गत ६० प्रतिशतभन्दा कम भएमा सुरक्षा प्रणाली(एसएमएस) कमजोर भएको मानिन्छ । तसर्थ जुन कम्पनीले ६० प्रतिशतभन्दा कम छ उसले उडानको अनुमति पाउने छैन ।
यस्तै सोही कमिटीले वायुसेवा प्रदायक कम्पनीलाई विभिन्न प्रतिबन्ध लगाउने तयारी गरेको निर्णय पनि गरेको छ । कम्पनीलाई विस्तार र छूट प्रदान नगर्ने, थप उडानको अनुमति नदिने, एयरलाइन्स् यातायात पायलट लाइसेन्स नभएका पाइलटलाई यात्रुवाहक जहाज उडाउन नदिने, जहाजको हरेक मर्मतपछि परीक्षण उडान गर्नुपर्ने र पहिले अनुमोदित अनुसूचित नम्बरहरूको अनुसूचित उडानहरूको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने निर्णय गरेको हो ।
हाल नेपालमा हवाईजहाज र हेलिकप्टर गरि जम्मा २० वटा वायुसेवा कम्पनी दर्ता छन् । अघिल्लो वर्ष गरिएको अध्ययन अनुसार सबैभन्दा कमजोर श्री एयरलाइन्स रहेको थियो । उक्त कम्पनीको सुरक्षा प्रणाली ४६.६७ प्रतिशत मात्रै रहेको थियो । त्यस्तै सौर्य एयरलाइन्सका ५५.३२ प्रतिशत, नेपाल वायुसेवा निगमको ५५ प्रतिशत र तारा एयरको ५९.१७ प्रतिशत छ ।
हेलिकप्टरतर्फ भने मुस्ताङको २३.४० प्रतिशत मात्र थियो । त्यस्तै प्रभु हेलिकोप्टरको५०.२४ प्रतिशत र अन्नपुर्ण हेलिकोप्टर ३४.०४ प्रतिशत छ ।