प्रहरी जवान महेन्द्रको भावुक सिर्जना, ‘सिंदुर फाली सेतो कपडा लाउँदा मन बुझाए प्रिया !’


मैले यो संसार छोडेर जाँदा दुनियाँको सामु तिमीले ।

सिंदुर फाली सेतो कपडा लाउँदा मन बुझाए प्रिया ।।

यी हरफ शनिबार ट्रकको ठक्करबाट शनिबार ज्यान गुमाएका प्रहरी जवान महेन्द्र बिकले लेखेका हुन् ।

८ वर्षअघि नेपाल प्रहरीमा जवानका रुपमा प्रवेश गरी यही वैशाखमा वैवाहिक बन्धनमा बाँधिएका महेन्द्रले केही समयअघि यो मुक्तक लेखेका थिए । तर, अहिले अफसोच उनको यो मुक्तक वास्तविकतामा परिणत भएको छ ।

शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले महेन्द्रले चलाएको बा. प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सल्यानको कपुरकोट प्रहरी चौकीमा दरबन्दी भएका महेन्द्र एसईईको पुरक परिक्षा दिनका लागि ८ दिनको बिदा लिएर बाँके आएका थिए । त्यसपछि गर्भवती बहिनीलाई भेट्न जाने क्रममा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थियो । नातामा दाई पर्ने हेमबहादुरलाई पछाडि राखेर हिँडेका महेन्द्रले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।

परिवारका एक्ला छोरा महेन्द्र गरिबीकै कारण सानैमा पढ्न नपाए महेन्द्र पढ्नुपर्छ भन्ने कुरामा दृढ थिए । त्यसैले जागिर खाएकै बखतमा एसईई दिएका उनी यसपटक २ विषयमा पूरक दिनका लागि जागिर बिदा लिएर आएको समयमा दुर्घटनामा परे र वैशाखमा मात्रै सिन्दुर सजाएकी श्रीमती र बृद्धा आमालाई एक्लो बनाएर संसारबाट बिदा भए । उनी पढाइप्रति दृढ थिए भन्ने कुरा उनले गरेको सिर्जनाबाट पनि पुष्टी हुन्छ । एउटा जवानले ड्युटीमै रहँदाको बखत लेखेको यो सिर्जना उनको सिर्जनामात्र नभइ वास्तविकता पनि बनेको छ । दुःखद्, श्रद्धाञ्जली महेन्द्र !!!!

उनले चितवनमा कार्यरत रहँदा लेखेको मुक्तकः

तिमीलाई समाजले एक्लो बनाउँदा मन बुझाए प्रिया ।

धागोले बाँधेको मेरो पत्र पाउँदा मन बुझाए प्रिया ।।

 

धन कमाउने आश बोकी जहाज चढेको मान्छे म ।

काठको बाकसभित्र लास आउँदा मन बुझाए प्रिया ।।

 

मैले यो संसार छोडेर जाँदा दुनियाँको सामु तिमीले ।

सिंदुर फाली सेतो कपडा लाउँदा मन बुझाए प्रिया ।।

 

हरियो बाँसमाथि चढाई मलाई आर्यघाट लाँदा ।

मलामीहरुले हरे रामराम गाउँदा मन बुझाए प्रिया ।।

 

संसारको रित हो एक दिन सबैले छाडि जानुपर्छ ।

नुन बिनाको सादा खाना थमाउँना मन बुझाए प्रिया ।।

 

प्रतिक्रिया