छोरालाई कुट्दै भिडियो बनाएर पत्नीलाई पठाउने बुवा पक्राउ


ओखलढुङ्गा- ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षीय फुरिञ्जी शेर्पा छोरालाई यातना दिएको आरोपमा पक्राउ परेका छन् ।  शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई चरम यातना दिने गरेको खुलेको हो ।  शेर्पाले लामो समयदेखि छोरालाई यातना दिने गरेको रहस्य सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत बाहिरिएको हो।

शेर्पाले आफ्नै ६ वर्षीय छोरालाई कुटपिट गर्नुका साथै खड्कुलाेमा हाली पानीसँगै उमाल्ने, डोरीले बाँधेर उल्टो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । शेर्पा छोरालाई चरम यातना दिने र आफैंले भिडियो बनाएर सामाजिक सञ्जालमार्फत श्रीमतीलाई पठाउने गर्छन् । शेर्पाकी श्रीमती भने रोजगारीका लागि साइप्रसमा छन् ।

नेपालमा हुँदा आफूलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पा बताउछिन् । आफूलाई रिस देखाउन छोरालाई यातना दिएर भिडियो खिँचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको उनले बताइन् ।

शेर्पाका चार सन्तानमध्ये एक जना बेपत्ता छन् । उनी बेपत्ता भएको करिब नौ वर्ष भएको स्थानीयले बताएका छन् । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाइएको र छोराहरुको उद्धार गरेर स्वास्थ्य परीक्षण गराइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

 

प्रतिक्रिया