राजनीतिक आवरणमा चर्को गुण्डागर्दी, गुण्डाकै सिफारिसमा हुन थाल्यो प्रहरीको सरुवा


काठमाडौं – केही वर्ष पहिले दिनेश अधिकारी चरी र घैंटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका विभिन्न सहरमा गुण्डागर्दी सुस्ताएको थियो । तर, पछिल्लोसमय विस्तारै जिल्ला जिल्लादेखि राजधानीसम्म गुण्डागर्दी मौलाउन थालेको छ ।

नेपाल प्रहरीले तयार पारेको गुण्डागर्दीको लिस्टका नाम चलेका अधिकांश गुण्डाहरु यतिखेर राजनीतिक दलमा आबद्ध मात्र होइन जनप्रतिनिधिका रुपमा समेत आफूलाई स्थापित गरिसकेका छन् । अधिकांश आपराधिक पृष्ठभूमिका व्यक्तिहरु विभिन्न राजनीतिक दलमा आबद्ध रहँदै गुण्डागर्दीमा सक्रिय छन् ।

नेपाल प्रहरीका एक अधिकृतका अनुसार गुण्डागर्दीको शैली मात्रै फेरिएको हो तर ती समूहको धन्दा भने झाँगिँदै गएको छ । राजनीतिक आवरणमा प्रायः हिजोका आपराधिक व्यक्तिहरु यतिखेर मिटरब्याजको धन्दा, ठेक्कापट्टा, मानव तस्करी, सुन तस्करीलगायतको धन्दा चलाउँदै राजनीतिमा सक्रिय रहिआएका छन् ।

हिजोको १/२ जनाको समूहबाट आपराधिक धन्दा चल्दै आएको  थियो भने अहिले संगठित रुपमै आपराधिक गतिविधिमा यस्ता व्यक्तिहरु सक्रिय रहेको प्रहरीको बुझाई छ । यस्ता व्यक्तिहरुलाई राजनीतिक दलको नेतादेखि उच्च पदस्थ प्रहरीहरुकै संरक्षण र कतिपय यस्ता धन्दामा अघोषित रुपमा प्रहरीनै संलग्न भेटिएको छ ।

आपराधिक गिरोहहरुले पछिल्लो समयमा शक्तिशाली राजनीतिक दलका नेतादेखि प्रहरीका उच्च पदस्थ अधिकृतहरुसँग फोटो खिचेर सार्वजनिक गर्दै आफ््नो पहुँच माथिसम्म भएको पुष्टी गर्दै सर्वसाधारणलाई त्रसित गराउने गर्दै आएको खुलेको अपराध महाशाखाका एक अधिकृतले बताए ।

यस्ता फोटोहरु सार्वजनिक गर्ने आपराधिक व्यक्तिहरुले आफ्नो पहुँच माथिसम्म छ भनेर मिटर ब्याजको धन्दादेखि सुन तस्करीसम्म गर्दै आएका छन् । विशेष गरी पछिल्लोसमय राजधानीका आसपासका जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रसुवा, धादिङका जिल्लाहरुमा ठेक्का कब्जा गर्ने, सर्वसाधारणलाई तर्साउने, मिटर ब्याजको धन्दा चलाउने र काठमाडौंलाई सेन्टर बनाउँदै आएका छन् । पहिला काठमाडौंमा अपराध गर्ने जिल्लालाई सेन्टर बनाउँथे भने अहिले ठिक उल्टो हुने गरेको भेटिएको छ ।

केही दिन अगाडि जिल्लामा राजनीतिक दलका यस्ता किसिमका अपराधिहरुलाई कानुनी दायरामा ल्याएकै विषयमा विभिन्न आरोप लगाउँदै तनहुँका प्रहरी प्रमुख एसपी अपिलराज बोहोरालाई सरुवा गरिएको थियो । नेपाल प्रहरीमा काबिल अफिसरका रुपमा चिनिने एसपी बोहोरालाई आपराधिक पृष्ठभूमिका व्यक्तिहरुकै सिफारिसमा गृहमन्त्रालयले सरुवा गरेको आरोप लागेको छ । जसका कारण नेपाल प्रहरीको मनोबल गिर्दै गएको महसुस संगठनभित्रका काबिल अफिसरहरुले गरेका छन् ।

यो त एक प्रतिनिधिमात्र हो, यस्तै काभ्रेका एसपी बसुन्धरा खड्कालाई पनि सरुवा गर्नका लागि एक आपराधिक समूह लागि परेको स्रोतको दाबी छ । विभिन्न अपराधमा संलग्न भई कानुनी कारबाही भोगिसकेका विभिन्न आपराधिक समूहहरु अहिले राजनीतिक दलमा आबद्ध छन् । यी र यस्ता व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि एसपी खड्का बाधक भएपछि विभिन्न राजनीतिक बहाना बनाउँदै उनलाई हटाउन गृहमन्त्री रमेश लेखकलाई सिफारिस समेत गरेका छन् ।

प्रहरी संगठनभित्र काबिल प्रहरी अफिसरका रुपमा चिनाउँदै संयुक्त राष्ट्रसंघको ३५ देशले प्रतिनिधित्व गरेको मिसनमा सर्वोत्कृष्ट ठहरिएकी एसपी खड्काले संगठनमा आफूलाई काबिल अफिसरका रुपमा स्थागित गराउँदै आएकी छिन् ।

चुस्त र दुरुस्त कमाण्ड गर्न सक्ने क्षमता भएकी खड्काले पछिल्लो समय काभ्रेमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सफल भएकी छिन् ।

प्रतिक्रिया