चोरीका गहना र ल्यापटप बेचिरहेका तीन युवक समातिए


काठमाडाैं- चाेरीका गहना र ल्यापटप  बेचिरहेका तीन जनालाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बालाजु गोलढुंगा बस्ने २० वर्षीय सुरेन्द्र तामाङ, टोखा बस्ने १९ वर्षीय अभिनय नेपाली र स्वयम्भू बस्ने २४ वर्षीय निरज खड्का छन् ।

उनीहरूले सोमबार अपरान्ह तीन बजे स्वयम्भू चमतीमा डेरा गरी बस्ने लमजुङ दुराडाँडाका मिलन लम्सालको कोठामा चोरी गरेका थिए ।

कोठाबाट सुनको आधा तोलाको औँठी, सुनको दुई तलाको सिक्री, डेढ तोलाको मंगलसूत्र गरी पाँच तोला बराबरको सुनका गरगहना, एउटा ल्यापटप र २० हजार रुपैयाँ चोरी गरेका थिए ।

यो समूहले चोरी गरेका सुनका गरगहना बिक्री गर्न लागेकै बेला प्रहरीले स्वयम्भूबाट नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

अनुसन्धान कार्यालयले बरामद सामान र तीन जनालाई प्रहरी वृत्त स्वयम्भूमा बुझाएको छ ।

प्रतिक्रिया