मोटरसाइकल दुर्घटनामा तीन प्रशिक्षार्थी प्रहरी घाइते


दिपायल – दिपायल प्रहरी तालिम केन्द्रका तीन प्रशिक्षार्थी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो प्रशिक्षण केन्द्रबाट मोटरसाइकलमा निस्किएका तीनजना प्रहरी जवानहरु घाइते भएका हुन् ।

म.२४ प ४६७४ नम्बरको मोटरसाइकलमा तालिमस्थलबाट बाहिरिएका उनीहरु ट्राफिक प्रहरी कार्यालय नजिक दुर्घटनामा परेका थिए ।

दुर्घटनामा २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट र २१ वर्षीय दिपेन्द्र खड्का घाइते भएका हुन् । उनीहरु तीनैजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेको शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए।

घाइतेको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलाली लगिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए।

प्रतिक्रिया