जहिलेसुकै सरकार बन्दा


जहिलेसुकै सरकार ढल्दा र बन्दा

प्रत्यक्ष प्रभावित हुने

अनेकन वर्गहरू छन्— हामीकहाँ

ख्याल गर्नुभएको छ <

सरकार ढल्दा र बन्दापिच्छे—

एकथरीको अनुहार उज्यालो हुन्छ

अर्कोथरीको अनुहार अँध्यारो हुन्छ ।

तपाई कहाँ बसेर हेर्न चाहनु हुन्छ <

यो उज्यालो र अँध्यारो

केन्द्रदेखि वडासम्म बिस्तारित छ ।

एउटा सरकारको नाथे कार्यावधि

यिनकै अनुहार चम्काउन तेल–बाती थप्दाथप्दै तुरिन्छ ।

 

यी वर्गका हरेक सदस्यलाई थाहा छः

सरकार बनेपिच्छे लाभको पदमा नियुक्ति पाउन—

विज्ञ हुनु पर्दैन

योग्यताको प्रमाणपत्र चाहिंदैन

लोकसेवा दिनु पर्दैन

परीक्षण काल नि हुँदैन

इमान्दारी चाहिदैन

जे जे चाहिन्छ—

त्यो कुनै किताबमा पाइदैन ।

त्यो कुनै विश्वविद्यालयमा पढाइदैन ।

 

हामीकहाँ सरकार ढलेको र बनेको थाहा पाउन

टेलिभिजन हेर्नु पर्दैन

समाचार सुन्नु पर्दैन

अखबार पढ्नु पर्दैन

हामीकहाँ सरकार ढलेको र बनेको थाहा पाउन

यिनै वर्गका सदस्यको अनुहार पढ्न सके हुन्छ

यिनै वर्गका सदस्यको ताउरमाउर नाप्न जाने हुन्छ ।

प्रतिक्रिया