सिमलताल घटना: नदीमा बेपत्ता बस र यात्रुहरुको खोजीकार्य गोलाघाटसम्म गरिने, ९० सशस्त्र परिचालन


काठमाडौं – त्रिशुली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजीकार्य गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाईसहरुको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल तथा (भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजीकार्य गर्ने उनले बताए ।

त्यसैगरी नं.१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म ¥याफ्टिङ बोट र नदि किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भएको छ ।

अविरल वर्षाको कारण नदिमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको बताइएको छ । यि डिभाइसहरुले सफा पानी तथा ताल र पाखेरीमा जमेको पानीमा खोजीकार्यको लागि प्रयोग गरिन्छ ।

असार २९ गते बेपत्ता भएको बस तथा यात्रुहरुको खोजीको लागि खटिएको सुरक्षा फौजले ३ वटा शव फेला पारेको थियो । खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

बीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुलि नदिमा खसेको थियो ।

प्रतिक्रिया