७ करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा स्क्वायर सहकारीका ३ सञ्चालक पक्राउ


काठमाडौं – काठमाडौंको मखनस्थित स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको करिब साढे सात करोड रकम हिनामिना गर्ने तीन सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरका ६६ वर्षीय बासुदेव मान जोशी, काठमाडौं–२५ केलटोलका ६७ वर्षीय सुवर्ण सेलालिक र काठमाडौं–२६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं छन् । जोशी अध्यक्ष, सेलालिक सचिव र पाछैं सदस्य रहेको प्रहरीले जनाएको छ ।

सहकारीका सञ्चालकहरुले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक-त्रैमासिक-वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिलाएका थिए ।

संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएकाले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरी गरेका थिए ।

बचतकर्ताको सात करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना आरोपमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया