कालीमाटी वृत्त प्रमुख डिएसपी बोहराले दिए हातखुट्टा भाँच्ने धम्की, सुरक्षाको माग गर्दै उजुरी


काठमाडौं– प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) अपिल बोहराले धम्की दिएको भन्दै सुरक्षाको माग गरी एक भारतीय नागरिकले प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्।

भारतको मोतीहारी जिल्ला संग्रामपुर थानाका स्थायी बासिन्दा राजकुमार गुप्तालाई पक्राउ गरिएका साथीका विषयमा जानकारी लिन जाँदा डिएसपी बोहराले धम्की दिएको जाहेरीमा उल्लेख छ।

कालीमाटीमा फलफूल पसल गर्ने नवराज कार्कीलाई पक्राउ गरेपछि परिवारको आग्रहमा उनको स्वास्थ्यलगायतका विषयमा बुझ्न जाने क्रममा कालीमाटी प्रहरी कार्यालय परिसरमा डिएसपी बोहराले धम्की दिएको गुप्ताले जनाएका छन्। त्यसबाहेक मोबाइलमा समेत फोन गरेर धम्क्याएको उनको जाहेरीमा उल्लेख छ।

उच्च रक्तचापका विरामी रहेका कार्कीको परिवारले गुप्तालाई प्रहरी कार्यालयमा पुगी चिल्लो पिरो खान नहुने र औषधि समयमा दिनका लागि अनुरोध गरिदिन भनेपछि १६ फागुनको दिन उनी प्रहरी कार्यालय पुगेका थिए।

सोही आग्रह उनले सुनाउने क्रममा ‘तँ भारतीय होस्?’ आज आइन्दा यहाँ नआउनु नत्र फँसाईदिन्छु भनी दुव्र्यवहार गरेको तथा सुरक्षा समस्या भएको भनी गुप्ताले जाहेरी दिएका हुन्।

कार्यालय परिसरमा डिएसपी बोहरा इन्स्पेक्टर, हवल्दार, असई सईहरुसँग गफिइरहेका बेला कार्कीका विषयमा आफूले इन्स्पेक्टर मनोज यादवलाई आग्रह गर्ने क्रममा बोहराले धम्क्याएको उजुरी गुप्ताले दिएका हुन्।

‘तँ इन्डियन कि नेपाली भनेर सोधे, मैले इन्डियन भनें। तँ आज आइन्दा नआइज फेरि हाइस भने हातखुट्टा भाँचिदिन्छु, फँसाएर भित्र हालिदिन्छु भनी धम्की दिए’, गुप्ताले उजुरीमा भनेका छन्,‘भोलीपल्ट फोन गरेर पनि त्यसै भने।’

 

के भन्छन् डीएसपी बोहोरा ? 

यसघटनाका बारेमा डीएसपी बोहोराले अनुसन्धानमा रहेको व्यक्तिका सम्बन्धमा असम्बन्धित व्यक्तिले चासो देखाएकोले आफूले वास्तविकता बुझाउनु आवश्यक छैन भन्दै फर्काइदिएको बताए ।

डीएसपी बोहोराले हुन्डीको कारोबारमा संलग्न भएको भन्दै अनुसन्धान भईरहेकोले भारतीय नागरिकले अनुसन्धानमा रहेको नेपाली नागरिकका बारेमा जानकारी लिन नसक्ने बताउँदै अब आइन्दा यस सम्बन्धमा अनावश्यक सोधपुछ नगर्न भनेको बताए ।

प्रतिक्रिया