एमालेलाई सर्वोच्चको निर्णय अवसर, पार्टी एकताबद्ध बनाउन साझा अवधारणा बनाइने


काठमाडौं – नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताए । उनले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने जानकारी पनि दिए । ‘अबदेखि नेताहरु विभिन्न चरणमा बसेर छलफल गर्नुहुन्छ । आजको छलफलले साझा धारणा निर्माण गरेको छ’, उनले भने, ‘यसको जगमा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने आधार सिर्जना गरेको छ ।’

नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रुपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताए । ‘बलियो एमालेले मात्र अरू वामपन्थीलाई पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध र नेतृत्व दिन सक्छ भन्नेमा साझा निष्कर्ष निकालेका छौँ’, उनले भने । बैठकमा नेपाल पक्षले आफूविना बसेको गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयमा असहमति जनाएको छ ।

प्रवक्ता ज्ञवालीले नेपाललगायत नेताहरुले फागुन २८ गते आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न भनिएको जानकारी दिए । ‘हामीले ती निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौँ’, उनले भने । ‘फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो । बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन ।’

उनले अर्को पक्षको यही चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपु¥याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गरौँ भनेर आफूहरुले भनेको बताए ।

प्रतिक्रिया