१७ महिनामा चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन् ।
सरकारको नेतृत्व गरिरहेका दाहालले सरकारको नेतृत्व गरेको १७ महिनामा चौथोपटक विश्वासको मत लिन लागेका हुन् । उनी २०७९ साल पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए ।
तत्कालिन गठबन्धनको सहयोगमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ गठबन्धनका साथ २६ पुसमा पहिलोपटक विश्वासको लिएका थिए भने त्यसलगत्तै चैत ६, २०७९ दोस्रोपटक विश्वासको मत लिएका थिए ।
त्यसपछि तत्कालिन गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग सम्बन्ध तोडेर नेकपा एमालेसँग गठबन्धन गरेपछि यही फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए ।
जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको हुनाले दाहालले फेरि अर्कोपटक विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई विश्वासको मत लिने कुरा जानकारी गराइसकेको पनि जनाइएको छ ।