

कञ्चनपुरमा ढुङ्गाले हानेर पूर्व शिक्षककाे हत्या

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा एक पूर्व शिक्षककाे ढुङ्गाले हानेर हत्या गरिएकाे छ । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दकाे ढुङ्गाले हानेर हत्या गरिएकाे हाे ।
हत्या गर्ने सोहि ठाउँका ३५ वर्षीय महेश भण्डारी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक गौरी प्रसाद जैशीका अनुसार प्रहरीको टोली र कैलालीबाट आएको कुकुरकाे सहयाेगबाट उनीलाई समातिएकाे हाे ।
बिहिवार बिहान करिब ४ बजेको समयमा फरार रहेका युवकलाई बेलौरी–६ दुम्लीमा खोजतलासी गर्दा ती युवक ट्याक्टरको पछाडीको ट्रलीमा भुसाभित्र सुतेको अवस्थामा फेला परेकाे जैशीले बताए । भण्डारीले मादकपदार्थ सेवन गरेको पाइएको उनले बताए ।
आपसी विवादपछि भण्डारीले शिक्षक चन्दकाे मुख,टाउकोमा ढुङ्गाले हानेर हत्या गरेकाे खुलेकाे छ ।
घाइते अवस्थामा रहेका शिक्षक चन्दलाई बेलौरी प्रााथमिक स्वास्थ्य चौकीमा राखिएको थियो ।पछि त्यहाँबाट धनगढीको निसर्गमा थप उपचारका लागि पठाएको भएपनि उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरी निरिक्षक जैशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

