

पूर्व डिएसपीलाई जुत्ताको माला लगाउने दुर्गा प्रसाईंका मान्छे समातिए

काठमाडाैं- पूर्वडिएसपी केपी शर्मा पन्थीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मिलन भन्ने ज्ञानबहादुरलाई प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । उनको पूरा परिचय खुलाइएकाे छैन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विरूद्धमा अभिव्यक्ति दिएको भन्दै वैशाख ९ गते मिलनसहितको एक समूहले पूर्वडिएसपीमाथि दुर्व्यवहार गरेका थिए । उनीहरूले पन्थीलाई पशुपति क्षेत्रमा समातेर जुत्ताको माला लगाएर भिडिओ बनाएका हुन् । समूहले आइन्दा प्रसाईँको विरूद्वमा बोले जिब्रो काटिदिने धम्कीसमेत दिएका थिए ।
त्यसपछि पीडित पन्थीले वैशाख २७ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । पक्राउ परेकामाथि अपमानजनक व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

