प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई


काठमाडौं – प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन् । उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गरे । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय भए । उनले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेण्डमा पूरा गरेका हुन् । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्राप्त गरे ।

विजेताहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरिदिएको हो ।

सेनाको मुख्यालय जङ्गीअड्डाबाट शुरू भएको म्याराथन थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जगाति, सानोठिमी, पेप्सिकोला हुँदै विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, लैनचौर, घण्टाघर हुँदै भद्रकालीमा आएर सकिएको थियो ।

प्रतिक्रिया