

‘रियल’ लाइफबाट ‘रिल’ लाइफमा देखिँदै नेताहरु

काठमाडाैं- पछिल्लो समय नेपालका केही राजनीतिज्ञहरु अभिनय क्षेत्रमा पनि प्रवेश गर्न थालेका छन् । रोचक त के छ भने सरकारको आलोचना गर्न कहिले पछि नपर्ने तीन जनप्रनिधिहरु चलचित्रमा देखिन लागेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही र धरानका मेयर हर्क साम्पाङ चलचित्रमा लेखिन लागेका हुन् ।
‘खजुरे ब्रो’ नामक चलचित्रमा धरानका मेयर साम्पाङ देखिने भएका छन् । उक्त चलचित्रमा उनी विशेष भूमिकामा देखिने बताइएको छ । निर्माण टिमका अनुसार फिल्ममा उनको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ । उनलाई मेयरकै भूमिका देख्न सकिने कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए ।
फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ । कमेडी जनरामा बन्ने फिल्मको लेखन तथा निर्देशन सुरज सुनुवारले गरेका छन् भने नवीन मानन्धर र सुरज सुनुवारले लगानी गरेका छन् ।
यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गर्न लागेका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्ममा उनको अभिनय रहने भएको हो । फिल्ममा केपी ओली प्रधानमन्त्रीको भूमिकामा देखिने छन् । सोही चलचित्रमा ज्ञानेन्द्र शाहीको पनि अभिनय रहने जानकारी दिइएको छ । फिल्ममा शाही के भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन ।
अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो । फिल्ममा शिव अधिकारीको कथा, ओम सुनारको संगीत रहनेछ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

