यस्तो रहेछ भारतले प्रचण्डलाई साथ नदिनुको कारण, बाबुरामले नयाँ दिल्लीमा को–कोसँग कुरा गरे?


काठमाडौं– प्रतिनिधि सभा विघटनपछि आफ्नो आन्दोलनमा खुला साथको अपिल गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय संस्थापनले साथ नदिनुको रहस्य खुलेको छ।

तत्कालिन एमालेसँग गठबन्धनमा चुनाव लडेपछि ठूलो सीट ल्याएको प्रचण्डको तत्कालिन माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, तत्कालिन राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी पार्टी (जसपा), नयाँ शक्ति नेपाललगायतलाई मिलाएर केपी शर्मा ओलीलाई विपक्षमा राख्नेगरी सरकार गठन गर्न भारतीय संस्थापनले सुझाएको थियो। तर उक्त प्रस्तावलाई प्रचण्डले अस्वीकार गर्दा भारतीय संस्थापन रुष्ट भएको नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले खुलासा गरेका हुन्।

प्रचण्डलाई यस्तो प्रस्ताव गर्न भारतीय संस्थापनको सन्देशसहित सिंह र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पुगेको पनि खुलेको छ। एउटा अन्तरवार्ताका क्रममा सिंहले भनेका छन्,‘त्यसैबेला प्रचण्डले अहिले भनिरहेको समीकरणको प्रस्ताव गरिएको थियो तर एकीकरण गरेपछि ओली केही महिनामा नै रोगले थलिने र नेतृत्व आफूले पाउने लोभमा प्रचण्डले प्रस्ताव मानेनन्, अब त्यही समीकरणको खोजी गरिरहेका छन्।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्डले लोकतन्त्र जोगाउनका लागि भारतको सहयोग चाहिएको भनी सार्वजनिक रुपमा राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ताका दौरान भनेका थिए भने विरोध सभाका क्रममा पनि काठमाडौंमा उक्त अपिल गरेका थिए।

अहिले उक्त समीकरणका निम्ति ओलीलाई किनारा लगाउन कांग्रेसका सिटौलालगायतका नेता पनि सक्रिय छन्। सिटौला र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईमार्फत भारतीय पक्षको सहयोगका लागि प्रचण्डले ओलीविरुद्धको समीकरण बनाउन खोजेका छन्, अहिले।

यस विषयमा सिटौलाले सार्वजनिक रुपमा केही भनेका छैनन्। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने अहिले समीकरण बन्न नसक्ने स्पष्ट पारेका छन्। त्यसका लागि प्रचण्ड नेतृत्वको दल विभाजन अनिवार्य रहेको सर्त अघि सारिएको छ। जसका कारण प्रचण्डलाई नैतिक दबाब परेको छ।

यता, जसपा अध्यक्ष भट्टराईमार्फत भारतीय पक्षसँग प्रचण्डले भनेको समीकरणमा सहयोगको कुरा नयाँ दिल्लीमा चलाइएको छ। उपचारका क्रममा त्यहाँ पुगेका भट्टराई स्वयम्ले यस विषयको सांकेतिक खुलासा गरेका छन्। औपचारिक तहमा भारतीय संस्थापनका अधिकारीसँग कुराकानी नभए पनि अनौपचारिक हिसाबमा छलफल गरिएको बताउँदै भारतीय टेलिभिजनलाई दिएको एउटा अन्तरवार्तामा भट्टराईले भनेका छन्,‘निश्चय नै मैले लामो समय यहाँ अध्ययन गरेका कारण सरकारमा र सरकार बाहिर रहेका कतिपय नेता मेरा मित्र छन् र उनीहरूसँग मेरो संवाद भएको छ। यो औपचारिक रुपमा भएको होइन, अनौपचारिक रुपमा भएको हो।’

प्रतिनिधि सभाले सर्वसम्मत रुपमा पारित गरेको नेपालको नयाँ नक्शाको सन्दर्भलाई पनि भट्टराईले विरोधाभाष रुपमा चित्रण गरेका छन्। उनले भनेका छन्,‘भारत जस्तो ठूलो छिमेकीसँग नेपाल जस्तो सानो मुलुकले टक्कर लिएर होइन, समझदारी र वार्ताका माध्यमबाट सीमा समस्याको विषय राख्नु पर्ने थियो, यो त अंग्रेजको पालादेखिको विवाद हो।’

डा. भट्टराईले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोभाललगायतसँग कुराकानी गरेको उच्च स्रोतको दाबी रहेको छ। तर के कुराकानी भयो भन्ने खुलासा नभए पनि नेपालको अहिलेको सत्ता समीकरणका विषयमा नै चर्चा गरिएको आशंका स्वभाविक मानिएको हो।

भारतीय संस्थापनले प्रधानमन्त्रीका रुपमा प्रचण्डको विकल्पलाई खोज्नुपर्ने र त्यसमा उनको एउटा दलको बलियो समर्थन रहनुपर्ने सुझाव दिएको बताइन्छ।

यसैले पनि प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेताले प्रधानमन्त्री दाबी नगरी त्यसका लागि खुला रहेको बताउँदै आएका छन्। यदि यस्तो समीकरण बनेको खण्डमा प्रधानमन्त्रीमा डा. भट्टराईलाई प्रचण्ड, नेपाली कांग्रेस, जसपाको सहयोग हुनुपर्ने चर्चा गरिएको बताइन्छ।

प्रतिक्रिया