तीन महिने छोराको हत्या गर्ने बाबु पक्राउ


बैतडी – बुबाको कुटाइबाट बैतडीमा मंगलबार तीन महिने छोराको ज्यान गएको छ ।

ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुरले हत्या गरेका हुन् ।

राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘सुतिरहेका छोराको टाउकोमा हानेछन्’, उनले भने ।

यस्तै राजबहादुरले मंगलबार नै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन् । लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गरेका हुन् ।

बुबाको टाउकामा चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भाइलाई सामान्य चोट लागेको छ । राजबहादुरले मारेका छोरा तीन छोरीपश्चात् जन्मेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया