

शेखर टिमको बैठक भोलि बस्दै, विश्व र प्रदीप पनि सामेल हुने !

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक मंगलबार बस्ने भएको छ ।
बालुवाटारस्थित नेता शेखर कोइरालाको सम्पर्क कार्यलयमा दिउँसो २ बजे बस्ने गरी बैठकको तय गरिएको छ ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए ।
‘सिटौला छाडेपछि प्रदीप हामीतिरै छन् । विश्वजीलाई पनि बोलाएका छौँ,’ ती नेताले भने, ‘उहाँहरू हामीसँग हुनुहुन्छ भन्ने पटकपटकको सहकार्यले देखाइसकेको छ । बोलाएका छौँ, आउँछौँ भन्नुभएको छ ।’
पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए ।
बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

