
विश्व हिन्दु महासंघद्वारा सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग
काठमाडौं — विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिले सुनसरीको देवानगञ्जमा साउन १० गते राति भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पवित्र साउन महिनाको सोमबार भगवान शिवलाई जल अर्पण गर्न गएका धार्मिक श्रद्धालुमाथि भएको सांघातिक आक्रमणले नागरिकको संवैधानिक तथा धार्मिक अधिकारमाथि प्रहार भएको उल्लेख गरेको छ। साथै, राज्यले उचित सुरक्षा व्यवस्था गर्न नसक्दा प्रहरीले चलाएको अन्धाधुन्ध गोली प्रहारबाट एक नागरिकको मृत्यु हुनु चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले यस्ता घटनाले नेपाललाई धार्मिक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढेको भन्दै सामाजिक सञ्जालमार्फत धार्मिक घृणा, विभेद र उत्तेजना फैलाउने गतिविधि रोक्न सरकारसँग आग्रह गरेको छ। साथै, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मेलमिलाप कायम गर्न सबै पक्षलाई संयमित हुन अपिल गरेको छ।
महासंघका प्रमुख मागहरू:
* मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस्।
* घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरियोस्।
* देशभर हिन्दु समाज र सम्पदाको सुरक्षा सुनिश्चित गरियोस्।
* आप्रवासी रोहिङ्ग्या मुस्लिमको गतिविधिमाथि निगरानी बढाई आवश्यक प्रक्रिया अघि बढाइयोस्।
* घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गरियोस्।
* लुटपाटमा संलग्नमाथि कारबाही गर्दै लुटिएको धनमाल फिर्ता गरियोस्।
* सामाजिक सञ्जालमा धार्मिक घृणा र हिंसा भड्काउने सामग्री तत्काल हटाइयोस्।
* नागरिकलाई उत्तेजित बनाउने व्यक्तिलाई कानुनी दायरामा ल्याइयोस्।
* धार्मिक समुदायबीच मेलमिलाप र सद्भावको पहल गरियोस्।
प्रेस विज्ञप्तिमा महासंघले सरकार, सुरक्षा निकाय, धार्मिक संस्था तथा सम्पूर्ण नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
विज्ञप्तिमा विश्व हिन्दु महासंघ नेपालका महासचिव उत्तमराज भण्डारी र सभापति अरुणकुमार पाण्डेको हस्ताक्षर रहेको छ ।



कागजपत्र |
