सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु


राजविराज – टायर पञ्चर भएर सप्तरीमा शुक्रबार पल्टिएको कारमा सवार एक जनाको मृत्यु भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सडकमा भएको दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका-५ का ६५ वर्षीय लिलाबहादुर कार्कीको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. १९ च ५५७६ नम्बरको कारको अगाडि भागको टायर पञ्चर हुँदा अनियन्त्रित भई पल्टिएको थियो। कारभित्र सवार कार्कीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

पूर्व-पश्चिम राजमार्गको कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा भएको दुर्घटनामा कार चालक खोटाङको मार्फा-२ का ५९ वर्षीय राजकुमार नेपाल र उदयपुरको त्रियुगा नगरपालिका-१० गाईघाटका ८३ वर्षीय योग्य बहादुर कार्की घाइते भएका छन्।

घाइतेहरूको भारदह अस्पतालमा प्रारम्भिक उपचार पश्चात हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया