हजार दरका ६३६ थान नक्कली नोटसहित काठमाडौंबाट दुई जना पक्राउ


काठमाडौं – काठमाडौंबाट ६ लाख भन्दा बढी नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुल एरियाबाट रामेछाप खाँडा देवी घर भई काठमाडौंको मकलबारी बस्ने छिरिङ लामा र दोलखाको भीमेश्वरका घर भई सतुङगल बस्ने सुरेन्द्र कार्कीलाई पक्राउ गरेको हो।

उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।

सोहीअनुसार बुधबार साँझ उनीहरुको साथबाट रु १००० दरको नेपाली नोट ६३६ थान (रु ६,३६,०००) बरामद भएको प्रहरीले जनाएको छ । यस्तै नोटको साईजमा काटेको कागजको बण्डल ९ थान पनि बरामद भएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर पठाइएको उनले बताए ।

प्रतिक्रिया