


रेग्मीविरुद्ध ५ वर्षको कैद माग्दै जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ ।
रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम सजाय माग्दै सरकारी वकिलले अभियोगपत्र दर्ता गरेको हो ।
उक्त मुद्दामा दोषी ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
गीतकार महेश आचार्यको उजुरीको आधारमा फागुन ८ गते थाइल्याण्डबाट नेपाल आउँदै गरेको बेला रेग्मीलाई प्रहरीको साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले अदालतबाट म्याद थप समेत गरेको छ ।
सामाजिक सञ्जालमा चरित्रहत्या हुनेगरी निकृष्ट गालीगलौज गरेको भन्दै आचार्यले उजुरी दिएका थिए । उनको उजुरीमाथि गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । रेग्मीको उक्त कार्यले सांगीतिक क्षेत्र दुःखी भएको समेत उनीहरुले उल्लेख गरेका छन् ।

