

प्रहरीको भ्यानबाट हामफालेर भाग्ने मुखिया पक्राउ

धनुषा – प्रहरीको भ्यानबाट हामफालेर फरार भएका एक अभियुक्तलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।
जबरजस्ती करणी मुद्दाका अभियुक्त धनुषाको सबैला– १३ का २८ वर्षीय राजाबाबु मुखिया प्रहरी भ्यानबाट गत फागुन १४ गते पानीमा हामफालेर भागेका थिए।
उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नजिकै भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ। उनी भारतीय भूमितर्फ जान लुकीछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अदालतमा म्याद थपका लागि लगेर प्रहरी कार्यालय ल्याउँदै गर्दा उनी फरार भएका थिए। थुनुवालाई राखेको गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीको भनाइ छ।

