‘आमा मलाई माफ गर्नुहोला’


काठमाडौं– हाँस्य कलाकार, निर्माता तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । शिवकी आमाको सय वर्षको उमेरमा हेटौडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो । उनका ४ छोरा र २ छोरी छन् ।

शिवहरिले फेसबुक स्टाटसमार्फत आमाको निधन भएको जानकारी दिएका हुन् । ‘दुःखद खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरें कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यसपछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीको लागि यो दुःखद खबर आफैले फेसवुक वालमा राख्न वाध्य भएको छु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला । (१९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म)’ उनले लेखेका छन् ।

शिवहरिको डेब्यू निर्देशन रहेको फिल्म ‘लक्का जवान’ आफ्नी आमालाई हेराउने चाहना भए पनि त्यो चाहना पुरा हुन सकेन । रिलिजको तयारी भइरहँदा कोरोना महामारी नेपाल छिरेपछि फिल्मको रिलिज रोकिएको थियो ।

प्रतिक्रिया