के ‘युवराज पारस’ कंगाल भएकै हुन् ?


काठमाडौं– पदीय भन्दा उदण्डताका कारणले बिख्यात तत्कालिन युवराज पारस शाह आजभोली बेखर्ची भएका छन् ।

विवादास्पद मानिसहरूसँगका अनेक प्रकारका सम्बन्धका कारण मिडियामा आइरहने पारस पोखरामा बस्छन् । उनलाई निर्मल निवासमा ‘प्रवेश निषेध’ छ ।

मुटुको समस्या समेत रहेका पारस लामो समयदेखि कतिपय मानिसहरूसँग पोखरामा रमाइलो गरेर बसिरहेका भिडिओहरूमा देखिन्थे ।

एक समय युट्युबर सोनिका रोकायासँगको भिडिओमा सार्वजनिक भएपछि आलोचनामा परेका पारस अहिले भने अन्यसँग नै देखिन्छन् । परिवारका सदस्यसँग बेलामौका भेट भए पनि पत्नी तथा तत्कालिन युवराज्ञी हिमानी शाहसँग भने उनको सम्पर्क भएको छैन ।

सामाजिक सञ्जालमा सक्रियता देखाउन थालेका उनले जन्मदिनको अवसरमा छोराछोरी पूर्णिका, कृतिका र हृदयेन्द्रसँग पोखरामा भेट गरेका थिए ।

दरबार सक्रिय भएका बेला नकारात्मक धारणा बनाउनका निम्ति पारसको रवैयाले ठूलो ओज राखेको थियो । राजतन्त्रको अन्त्यसँगै उनी थाइल्यान्डमा प्रेमिका कन्निकासँग लामो समय बसेका थिए । ड्रग्स प्रकरणमा उनी सोही मुलुकको कारागारमा पनि भासिए ।

नेपाल फर्केपछि काठमाडौंको अनामनगर र भैंसेपाटीका अपार्टमेन्टमा बसेका उनी हाल भने पोखराको अपार्टमेन्टमा बस्छन् । उनको अवस्थाबारे जानकार एक जना भन्छन्,‘अहिले उनी खर्च गर्न सक्ने अवस्थामा छैनन् । केही समाजसेवा गरेको देखाउँछन् त्यो पनि अर्कैले गरिदिन्छ ।’

महाभूकम्पपछि एक पटक भने पारस र हिमानीको भेट गोरखामा हिमानी ट्रष्टले निर्माण गरिदिएको स्कुल भवनको उद्घाटनका क्रममा भएको तस्बिर सार्वजनिक भएको थियो । जहाँ पारसकी माता तथा तत्कालिन वडामहारानी कोमल राज्यलक्ष्मी शाह पनि उपस्थित थिइन् ।

प्रतिक्रिया