खुकुरी प्रहार गरी ७४ वर्षीय बृद्धको हत्या अभियोगमा पक्राउ


सिन्धुपाल्चोक – ७४ वर्षीय बृद्धको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियागमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने मुक्तिनाथ पौडेलको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय राजाराम रायमाझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मुक्तिनाथ सहित ३ जनालाई राजारामले शनिबार दिउँसो खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्ची र प्रहरी चौकी पाँचपोखरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

घाइते भएका पौड्लसहित तीनै जनालाई उपचारको लागि तिपेनी अस्पताल हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल बबरमहल काठमाडौं पठाएकोमा उपचारको क्रममा सोमबार बिहान मुक्तिनाथको मृत्यु भएको हो । घाइते भएका अन्य २ जनाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया