अब सशस्त्र प्रहरी कर्मचारीलाई हिमाली चुस्ता र डाउन ज्याकेट


काठमाडाैं – गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दैै नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको छ ।

यसअघि प्रत्येक ३/३ वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए । यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नियमावलीमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूले पाउँदै आएको पोशाक तथा अन्य सामानको सम्बन्धमा समेत संशोधन गरिएको छ । संशोधित नियमावलीमा सशस्त्र प्रहरी कर्मचारीहरूले १ वर्ष अवधिमा पाउने पिटी गन्जी, पिटी कट्टु र पिटी जुत्तामा ट्रयाक सुट र स्पोट्र्स जुत्ता थप गरिएको छ ।

प्रत्येक वर्ष वितरण गर्ने भनिए पनि उनी कम्बल विगत केही वर्षदेखि खरिद नभएर वितरण रोकिएर रहेकोमा यसै वर्षदेखि खरिद प्रक्रिया शुरू भएको छ । अब कम्बल समेत नियमित रूपमा वितरण हुनेछ ।

सिनियर अधिकृतहरूले पाउँदै आएको टपबुट जुनियर अधिकृतहरूलाई समेत उपलब्ध गराउने गरी संशोधन गरिएको छ भने राजपत्रांकित अधिकृतहरूका लागि मात्र गरम र जाडो मौसममा उपलब्ध गराइएको सेरिमोनियल ड्रेस अवोप्रान्त सेरिमोनियल कार्यक्रममा भाग लिने अन्य सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

सबै स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीहरूलाई २ वर्षमा सेतो टेरिकटन एप्रोन उपलब्ध गराउँदै आएकोमा प्रत्येक वर्ष उनीहरूलाई सेतो टेरिकटन स्क्रब समेत थप गरिएको छ ।

प्रतिक्रिया