प्रत्येक घरधुरीलाई ग्यास !


डाेल्पा – दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ । दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिए ।

सात वडा रहेको काइके गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजारको हाराहारीमा छ । सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा फागुन पहिलो साताभित्र सबैको घरघरमा ग्यास पुग्ने अधिकृत अधिकारीले जानकारी दिए । रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको उनको भनाइ छ ।

वनजङ्गल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको हो । अत्यधिक चिसो रहेको यहाँ दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए । उनले भने, ‘भारी हिउँमा दाउरा नपाइने भएकाले तत्काल खाना पकाउन सजिलो होस् भनी ग्यास खरिद गरी गाउँपालिकाले स्थानीयवासीलाई दिन लागेको छ ।’

नेपालगञ्जबाट खरिद गरी मनकामनाको ग्यास जाजरकोट हुँदै डोल्पासम्म यातायातको साधनमा ढुवानी हुन्छ भने दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गर्न लागिएको प्रवक्ता रोकायले जानकारी दिए ।

प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गर्न लागिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० चुलो वितरण हुन लागेको हो । गाउँपालिकाको यो कामबाट सबैभन्दा बढी यहाँका महिला खुशी भएका छन् । घरायसी काममा व्यस्त हुने यहाँका महिला सधै खाना पकाउन र बालबालिकालाई खाजा पकाउँदा हैरान हुँदै आएका थिए ।

ग्यास पाउने भए पनि आफू निकै खुशी भएको कार्यपालिका सदस्य थललक्ष्मी रोकायले जानकारी दिए । सडक सञ्जालसँग नजोडिएको काइकेमा खाद्यान्न ढुवानीदेखि अन्य दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा खच्चड वा मानिसले बोकेर लैजानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया