४९५ घरधुरीलाई ढुवानीमा पिठो अनुदान, यार्सागुम्बा टिप्न पाएनन्?


डोल्पा – डोल्पोबुद्ध गाउँपालिकाले स्थानीयवासीलाई घरपिच्छे एक/एक क्विन्टल पिठो (मैदा) ढुवानीमा अनुदान उपलब्ध गराएको छ । गाउँपालिकामा करिब ४९५ घरधुरीलाई ढुवानीमा अनुदान सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिए ।

एक क्विन्टल पिठोमा रु सात हजार अनुदान दिइएको छ । बाँकी रु सात हजार भने स्थानीयवासी आफैँले बेहोरेका छन् । नेपालगञ्जबाट एक क्विन्टल पिठो डोल्पोबुद्ध पुर्‍याउन रु १४ हजार लाग्छ ।

कोरोना महामारीका कारण स्थानीयवासीको आम्दानी गुमेपछि गाउँपालिकाले पिठोमा अनुदान दिएको उनले बताए । गाउँपालिकाले चालु आवमा पिठोमा अनुदान दिन रु ५० लाख छुट्याएको थियो ।

‘ढुवानी खर्च धेरै महङ्गो भएकाले स्थानीय तहले सहयोग गरेको हो । यसबाट स्थानीयवासीलाई धेरै राहत भएको छ ।’, अधिकृत पङ्गेनीले भने ।

यहाँका स्थानीयवासीको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा हो । उनीहरूले यार्सागुम्बा बेचेर कमाएको रकमले चीनको तिब्बतमा लाग्ने व्यापार मेलाबाट वर्षभरिलाई पुग्ने खाद्यान्न र अन्य सामान किन्ने गर्छन् ।

तर यस वर्ष कोरोना महामारीका कारण न त यार्सागुम्बा टिप्न पाए, न व्यापार मेला नै हुनसक्यो । जसले गर्दा आम्दानी गुम्नुका साथै खाद्यान्नलगायत सामग्री किन्नसमेत नपाएको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासी धार्के गुरुङले पालिकाले पिठो ढुवानीमा अनुदान दिएपछि ठूलो राहत मिलेको बताए । गाउँमा पर्याप्त आम्दानी नहुने र बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यताले गर्दा वर्षेनी स्थानीयवासीले खाद्यान्न सङ्कट भोग्दै आएका उनले गुनासो गरे ।

उपल्लो डोल्पाका ग्रामीण भेगमा चामल प्रतिक्विन्टल रु १२ देखि २० हजारसम्ममा बिक्री हुने गर्दछ ।

प्रतिक्रिया