

इन्द्रसरोवरकी सरस्वतीको हत्या अभियोगमा छिमेकी पक्राउ

मकवानपुर – मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेकी महिलाको हत्या अभियोगमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।
मंसिर १३ गतेदेखि हराएको भनिएकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको हत्या अभियोगमा प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी स्थानीय ठूलोकान्छा वाइबाका ३३ वर्षीय छोरा रोज वाइबालाई सार्वजनिक गरेको हो। सरस्वतीको कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
१३ गते सरस्वती परिवारबाट सम्पर्कविहीन भएको भन्दै श्रीमान् वीरबहादुर वाइबाले खोजतलासका लागि १७ गते प्रहरीमा निवेदन दिएका थिए। खोजतलास गर्ने क्रममा प्रहरीले गत शनिबार साँझ स्थानीय ठूलोकान्छाको घरदेखि ५० मिटर पर बारीमा खाल्डोमा वाइबाको शव पुरेको अवस्थामा फेला पारेको थियो।
निवेदनको आधारमा प्रहरी चौकी सिस्नेरी, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको टोलीले खोजतालस सुरु गरेको थियो। खोजतलासका क्रममा अभियुक्त रोज वाइबाको बारीमा अनुहार र कपडाको केही भाग देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको थियो।
शव फेला परेको भोलिपल्ट आइतबार जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमान्डमा घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरिएको थियो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले रोज वाइबालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले आफूले सरस्वतीलाई मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको स्वीकार गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
वाइबालाई जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वाइबाको अपराध पुष्टि भएमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्मकैदसम्मको फैसला हुन सक्ने प्रहरी प्रवक्ता कार्कीले बताए।

