एउटा विद्रोही वकिल शम्भु थापाका केही विवादास्पद प्रकरणहरू


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलाशमा सबैभन्दा बढी चर्किने वकिल हुन्, शम्भु थापा। उनले न्यायाधीशहरूमाथि पनि प्रश्न उठाउने गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलनाको मुद्दा लगाइनुपर्ने भन्ने नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष नेतृत्व गरेका थिए।

अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित बनाउनका निम्ति थापाले टेलिभिजनमा मात्र होइन, राजनीतिक दलका बैठकमा समेत आफ्ना धारणा राख्दा सरकारलाई गाली गर्ने र सर्वोच्च अदालतमा मिलोमतो हुनसक्ने आशंकाका विषय उठान गर्छन्।

उनले प्रतिनिधि सभा विघटन प्रकरणको बहस अदालतमा हुनुपूर्व नै नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको भेलामा भनिदिए– सभामुखले बैठक बोलाए हुन्छ। अदालतले गर्ने संविधानको व्याख्या आफैं गरिदिने यी विद्रोही वकिल थापाका केही प्रकरणहरू चर्चामा थिए।

त्यसो त संवैधानिक इजलाशमा यसअघि रहेका न्यायाधीश हरिकृष्ण कार्कीलाई हट्न बाध्य बनाउने पनि थापा नै हुन्। उनले प्रधानमन्त्री ओलीका सल्लाहकारका रुपमा कार्कीले काम गरेको भनी बस्न नमिल्ने प्रश्न सोझ्याएका थिए।

यसअघि उनी विवादमा तानिएको प्रकरण हो, अफताब आलमको पक्षमा वकलात गर्न जानु। रौटहटको राजपुरमा बम विस्फोटपछि घाइतेसहित २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा दर्ता गरिएका मोहम्मत आफताव आलमको पक्षमा बहस गर्न थापा रौतहट पुगेका थिए। न्याय र कानुनको पक्षमा रहेको भनी सडकमा उभिने उनले त्यसबेला भने यो आफ्नो पेशा भएको प्रतिक्रिया दिएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा बुझाएपछि जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमसहित १० जनाविरुद्ध विभिन्न तीनवटा मुद्दा दर्ता भएको थियो। जुन प्रकरणमा अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।

गम्भीर अपराधका अभियुक्त आलमको पक्षमा बहसका लागि वकालतनामा दर्ता गराउने थापासहित, रमण श्रेष्ठ, शेरबहादुर केसी, हरिहर दाहाल, सुनिल पोखरेल र योगेन्द्र अधिकारी थिए।

‘कतिपय चिजलाई पेशाकै कसीमा राखेर हेर्नुपर्छ। अभियुक्तले पनि आफूले वकिल राख्न पाउने अधिकारको प्रयोग गर्दा थापाहरू जस्ता नामी वकिल राख्न रुचाउँछन्’, एक कानुनकर्मी भन्छन्,‘तर मुद्दा र अपराधको मुल्यांकन गरेरै बरिष्ठहरू जो न्यायको गीत सडकमा गाउँछन्, त्यस्तै पेशागत व्यवाहार पनि देखाउनुपर्ने नैतिकताचाहिँ हुनुपर्छ।’

थापाको अर्को प्रकरणचाहिँ दिवंगत नेता खुमबहादुर खड्काको पक्षबाट मुद्दा लड्नु थियो। विशेष हुँदै सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी प्रमाणित गरेको थियो। तर थापाले भने त्यसबेला खड्कालाई जोगाउनका निम्ति ‘पेशा’ भन्दै आड लिए र पछि पन्छिए।

थापाको विवादको शिलशिला यति मात्रै होइन। उनी तत्कालिन नेकपा एमालेनिकट, त्यसमा पनि माधवकुमार नेपालनिकट रहेर राजनीतिक गर्ने मध्येका हुन्। उनले संविधानसभाको पहिलो निर्वाचनमा उदयपुरबाट चुनावको टिकट लिएका थिए, जहाँ पराजित भए।

यी विद्रोही स्वभावका वकिल थापाले एउटा अन्तरवार्तामा न्यायाधीशहरू सेटिङमा नै चल्ने गरेको र आफूजस्ता वकिलले नै त्यस्तो काम गर्दै आएको भनी विवादास्पद टिप्पणी गरेका थिए।

यतिमात्र होइन, न्यायाधीश नियुक्तिका विषयमा पनि थापाले सर्वोच्च अदालतमा मुद्दाको खेललाई निरन्तरता दिएका थिए। न्यायाधीश मनोजकुमार शर्माविरुद्ध आफैं रिट लिएर उनी सर्वोच्च पुग्ने मात्र होइन, नियुक्तीलगत्तै इजलास बहिस्कार गर्दै विरोध जनाउने विद्रोही पनि हुन्।

‘एक त आफूलाई न्यायाधीश नियुक्तका लागि सिफारिस नगरेको व्यक्तिगत चिन्ता र कुन्ठा पनि होला, अर्कातिर पुरानो कानुनकर्मी भएको अभिमानले पनि काम गरेको हुनुपर्छ’, ति कानुनकर्मी भन्छन्,‘यति साह्रोगरी विद्रोही स्वभावले पनि कानुनी निकायमा उपस्थिति देखाउनुचाहिँ ठिक नहोला।’

थापा अन्य प्रकरणमा पनि विवादमा तानिएका कानुनकर्मी हुन्। राज्यलाई कर छली गरेको अभियोगमा पुतलीसडकमा रहेको उनको ल फर्ममा राजश्व विभागले छापा समेत मारेको थियो। ०७० सालमा विभागले छापा मारेपछि उनी विवाद र चर्चामा आएका थिए।

प्रतिक्रिया