

प्रधानसेनापतिद्वारा दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण भ्रमण

काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण भ्रमण गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था निरीक्षणको क्रममा प्रधानसेनापति शर्माले शुक्रबार गोरखनाथ गणको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणका क्रममा उनले उक्त गणको वस्तुस्थिति, निर्वाचनको एकीकृत सुरक्षा योजना कार्यान्वयनलगायत विविध पक्षबारे जानकारी लिएको छ । साथै सेनापति शर्माले सकल दर्जालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिए ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति महारथी शर्माले खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखसँग अन्तरक्रियासमेत गरेका थिए ।
आजै प्रधानसेनापति शर्माले भक्तपुरको नगरकोटस्थित नेपाली सैनिक वार कलेजको निरीक्षण भ्रमण गरे साथै त्यहाँको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिएका थिए ।

