

कालिकोटमा बम विष्फोट : एक जनाको मृत्यु, चार जना घाइते

सुर्खेत – कालिकोटमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
उनका अनुसार जिल्लाको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो। यस्तै बम विष्फोटमा परी साेही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएकाे उनले बताए ।
‘घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ,’ उनले भने,’ घाइते बालबालिकाको अवस्था गम्भीर नै छ। कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी समेत भएको छैन ।’ उनका अनुसार प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

