

कांग्रेस घोषणापत्रको केही बुँदामा सभापति देउवाको नै आपत्ति !
सभापति देउवाले आपत्ति जनाएका केही बुँदामा संशोधन गरी साँझ सफ्टकपी र भोली मात्रै पत्रकार सम्मेलन गरी हार्डकपी वितरण गरिने

काठमाडौं – सत्तारुढ नेतृत्व दल नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार घोषणापत्र सार्वजनिक गरे पनि औपचारिक रुपमा घोषणापत्र भने उपलब्ध गराइएन ।
पार्टी कार्यालयमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति देउवाका साथै महामन्त्री विश्वप्रकाश शर्मा, नेता गोपालमान श्रेष्ठ, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
पार्टीले घोषणा-पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको भनिए पनि उक्त पत्रकार सम्मेलनमा घोषणापत्रको कुनै पनि छापिएको प्रति भने उपलब्ध गराइएन । घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापति देउवाले घोषणापत्रका बारेमा कुनै प्रतिक्रिया नदिएर मौन रहेको देखियो ।
विश्वस्त स्रोतका अनुसार घोषणापत्रमा समावेश गरिएका कतिपय बुँदाहरुमा सभापति देउवाले आपत्ति जनाएकोले छापिएका ती घोषणापत्र आज (आइतबार) सार्वजनिक नगरिएको हो । ती बुँदाहरु साँझसम्म सच्याएर सफ्टकपी र भोली (सोमबार) हार्डकपी उपलब्ध गराइने तयारी गरिएको छ ।
सभापति देउवाले आपत्ति जनाएपछि आज सार्वजनिक गरिएको भनिएको घोषणापत्रमा केही संशोधन हुने निश्चित देखिएको छ ।

