
आपराधिक क्रियाकलापविरुद्ध निर्मम हुन आईजी सिंहको निर्देशन
काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले गैरकानूनी तथा आपराधिक क्रियाकलापबिरुद्ध निर्मम हुन निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आइतबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले यस्तो बताएका हुन् ।
महानिरीक्षक सिंहले भने, ‘कानूनले निर्दिष्ट गरेको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन म निर्देशन गर्न चाहन्छु ।
गैरकानूनी तथा आपराधिक क्रियाकलापविरुद्ध थप निर्मम हुन पनि निर्देशन गर्न चाहन्छु । तपाईंले कर्तव्य निर्वाहको क्रममा असल नियतले गरेका हर कानूनसम्मत निर्णयमा संगठन तपाईंका पक्षमा उभिनेछ । यसका लागि म प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’
उनले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्वन गर्दै आएको व्यवसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गरे ।
यस संस्कृतिको प्रवद्र्धन गरी अक्षुण राख्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरे । महानिरीक्षक सिंहले चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर हुने स्पष्ट पारे ।



कागजपत्र |
