प्रदेशको ३३० क्षेत्रमा गठबन्धन दलद्वारा ७७ बढी सिटमा दाबी

माओबादी र नेकपा एसको अस्वभाविक दाबी


काठमाडौं – आगामी मंसिर ४ गते हुने सात वटै प्रदेशको प्रदेशसभा सदस्य निर्वाचनको लागि तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमै तालमेल गरेर जाने सत्तारुढ पाँच दलबीचको छलफल शुरु भएको छ ।

प्रतिनिधि सभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ५० वटामा तालमेल गर्ने निष्कर्षमा पुगेको पाँच दलिय कार्यदलको बैठकमा १५ वटा संघीय निर्वाचन क्षेत्रको विषयमा देखिएको दोहोरो र तेहोरो दाबीका कारण सहमति हुन नसकेपछि प्रदेश निर्वाचन क्षेत्रमा सहमतिको लागि छलफल शुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठनबन्धन दलहरुद्वारा गठित कार्यदलको बैठकमा सत्तारुढ दल नेकपा माओबादी केन्द्र रु नेकपा (एकीकृत समाजबादी)ले गत स्थानीय तहमा पाएको जनमतभन्दा बढी सिट दाबी गरेका छन् ।

बालुवाटार श्रोतका अनुसार कूल तीन सय ३० निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले एक सय ८०, माओबादी केन्द्रले एक सय नेकपा एसले ७०, जनता समाजबादी पार्टीले ५० र राष्ट्रिय जनमोर्चाले ७ प्रदेश सभा निर्वाचनमा आफ्नो दलको उम्मेदवारमा सहमति गर्नु पर्ने प्रस्ताव अघि सारेका छन् ।

गत बैशाखमा भएको निर्वाचनको जनादेशलाई आधार मान्ने हो भने गठबन्धन दलभित्र नेपाली कांग्रेसको हैसियत ६० प्रतिशत, माओबादी केन्द्रको २३ प्रतिशत, जसपाको ५, नेकपा एसको करिव ४ प्रतिशत र राजमोको एक प्रतिशतभन्दा कम छ ।

संघीय निर्वाचन क्षेत्रमा दलहरुले तालमेल गरेको भन्दा एक देखि २ सिट फरक पर्ने गरी कार्यदलका सदस्यहरुले प्रदेश निर्वाचन क्षेत्र बाँडफाँटको मस्यौदा तयार गरिरहेका छन् । सबै दलले कार्यदल बैठकमा पेश गरेको दाबी हेर्ने हो भने प्रदेश निर्वाचन क्षेत्रभन्दा ७७ सिट बढी दाबी गरेको देखिन्छ ।

कार्यदलका सदस्यहरुबीच कांग्रेसलाई एक सय ८०, माओबादी केन्द्रलाई ८४, नेकपा एसलाई ३२, जसपालाई ३० र राजमोलाई ४ सिट भाग लगाएमा सहमति हुन सक्ने प्रस्तावमा छलफल भइरहेको छ । तर निर्वाचन क्षेत्र, भूगोल, मतदाता र उम्मेदवारको लोकप्रीयता र सम्भावनालाई हेरेर केही सिट तलमाथि हुन सक्ने भनी छलफल भएको कार्यदलका एक सदस्यले बताए ।

प्रतिक्रिया