

पत्रकारलाई भाषा सिकाउँदै ओली : तपाईंहरू आफ्नो बा, आमा, हजुरआमा, हजुरबाहरूलाई तिमी भन्नुहुन्छ ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले प्रयोग गर्ने भाषाका विषयमा असन्तुष्टि जनाएका छन् । उनी निकट प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै ओलीले सञ्चारमाध्यमा पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाए ।
अंग्रेजी भाषाको प्रभावबाट आफ्नो भाषा बिर्सिएको भन्दै असन्तोष व्यक्त गरेका ओलीले दशक अघिसम्म राजा र राजपरिवारका विषयमा कस्तो भाषा प्रयोग गरिन्थ्यो भन्दै प्रश्न उठाए ।
ओलीले नेपाली पत्रकारले आफ्नो सभ्यता भुलेर ‘तिमी’ शब्द प्रयोग गर्ने गरेको बताए। ‘हाम्रो सभ्यतमाथि हमला भइरहेको छ। तपाईंहरु पनि कति होसियारी साथ कति बेहोसी साथ, लेख्नुपर्यो भने, अंग्रेजी ‘यू’ को अनुवाद तिमी लेख्नुहुन्छ,’ ओलीले भने,‘तपाईंहरु आफ्नो बा, आमा हजुरआमा, हजुरबाहरूका बारेमा लेख्नुपर्यो भने तपाईं भन्नुहुन्छ जस्तो लाग्दैन तिमी भन्नुहुन्छ सबैलाई।’
नेपाली पत्रकारले अंग्रेजहरूको नक्कल गरेर आफ्नो सभ्यतालाई भुल्न खाजेको ओलीको दाबी छ। अंग्रेजहरूले आफ्नो सभ्यतालाई विश्वभर फैलाउन चालेको चाललाई नेपालका पत्रकारले अनुशरण गरेको उनले बताए। ओलीले नेपाली पत्रकारहरु आफ्नै पूरानो सभ्यताम फर्किनुपर्नेमा जोड दिए।
‘अंग्रेजीमा सबैलाई यू भनिन्छ, त्यही सिकेर तपाईंहरुले पनि तिमी भन्न थाल्नुभयो,’ ओलीले भने, ‘हाम्रो चराको परिवार जस्तो होइन । चराले त दुइटा फूलपार्छ भुर्र उठ्छ । त्यसपछि आमाबाबु पनि चिन्दैन ।’

