
दुई महिलामाथि एकैदिन सामूहिक बलात्कार, ३ पक्राउ ४ फरार
विराटनगर — मोरङमा बिहीबार दुई महिलामाथि सामूहिक बलात्कार भएको छ ।
जिल्लाको विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा दुई महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामूहिक बलात्कार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ जनाले सामूहिक बलात्कार गरेका थिए ।
राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले केटा साथीसँग गफ गरेर बसिरहेको अवस्थामा युवक र युवती दुवै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । युवक उम्किएर भागेपछि किशोरीलाई उनीहरुले बलात्कार गरेको प्रहरीले बताएको छ । युवकले गाउँमा गएर होहल्ला गरेपछि किशोरीलाई करणी गर्नेहरु भागेको जनाइएको छ ।
कुटपिटबाट युवक र युवतीको टाउको र अनुहारमा चोट लागेको छ । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै दुवैजनाको घाउ जाँच गराइसकेको छ ।
पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको जनाइएको छ । उनीहरुले घरनजिकैको खेतमा लगेर ती महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न भएको आरोपमा जहदा–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुमाथि करण सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।



कागजपत्र |
