

धनुषामा तीन तलामाथिबाट खसेर बालकको मृत्यु

ढल्केवर – धनुषाको ढल्केवरमा तीन तलाबाट खसेर एक बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार सोमबार साँझ ६ बजे मिथिला नगरपालिका-६, का रामकुमार सिंहको एक वर्षीय छोरा आरभकुमार सिंहको आफ्नै तीन तला घरबाट खसेर मृत्यु भएको हो ।
खेल्दा खेल्दै घरको रेलिङ्गबाट बाहिर निस्केको बताइएको छ । तीन तलाबाट खसेर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।
मृतक बालकलाई शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको उनले जानकारी दिए । मृतक बालक मिथिला नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण महतोको नाति हुन् । उनको घरमा अहिले रुवाबासी चलेको छ ।

