

अभियान लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिशेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सर्वसाधारणमा निष्कासन गरेको हो।
कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ।
निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तीन हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

