
चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी कारबाहीमा, घटनाकाे गम्भिरपूर्वक छानबिन गर्न माग
काठमाडौं – ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोप लागेपछि पाँचजना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । सोमबार साँझ प्रतिष्ठानका डाक्टर कुलबहादुर घिसिङलाई एक जवानले कुटपिट गरेको अभियोग लागेपछि पाँच जना कारबाहीमा परेका हुन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार डा. घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेको प्रारम्भिक जाँचबुझमा देखिएको छ । तर अन्यले पनि रोक्नुपर्नेमा त्यसका लागि भूमिका खेलेको नदेखिएकाले चेकिङमा रहेका पाँचैजनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए । शाहले भने, ‘अहिले सबैलाई बग्गीखाना फिर्ता पठाइएको छ ।’
घटनाबारे छानबिन र कारबाहीका लागि माग गर्दै डा. घिसिङका तर्फबाट उनकी दिदीले प्रहरीमा निवेदन पनि दिएकी छन् । अल्का अस्पतालमा उनको घाउ चाँज पनि गरिएको छ । एसपी शाहका अनुसार पीडित चिकित्सकले कानून बमोजिम जाहेरी दिए जवान थापामाथि थप कारबाही पनि हुनसक्छ । नभए पनि विभागीय छानबिन र कारबाही हुने शाहले बताए ।
यसैबीच, नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गरेर डाक्टरमाथि कुटपिट भएको घटनाबारे गम्भिरतापूर्वक छानबिन गरेर दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।
‘सुरक्षाकर्मीबाट नै स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकमाथि यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भिर प्रश्न खडा गरेको छ’ संघका महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाको प्रत्याभूतिकालागिसमर्पित हुने व्यक्तिले असुरक्षितवातावरण निर्माण गर्नु अत्यन्तै खेद जनक रहेको नेपालचिकित्सक संघको ठहर छ ।’




कागजपत्र |
