नेपाल प्रहरीका परिवारलाई चितवन मेडिकल कलेजमा २५ प्रतिशत छुट सम्झौता


भरतपुर – नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी)बीच सम्झौता भएको छ। नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरीका परिवारका सदस्यलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्राडा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरेकी छन्। प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटालगायतको उपस्थितिमा भएको सम्झौतामा उपचार सेवामा २५ प्रतिशत र फार्मेसीमा सात प्रतिशत छुट दिने उल्लेख छ।

सम्झौताअनुसार नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरूका परिवार तथा अमर प्रहरीका परिवारले सङ्घले उपलब्ध गराएको परिचयपत्रका आधारमा सो मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा पाउनेछन्। सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचारलगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता हुने उपचारमा भने यो सम्झौता लागू हुने छैन।

यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरूलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताए। अस्पतालमा बहिरङ्ग (ओपिडी) र आकस्मिक (इमर्जेन्सी) टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने देवकोटाले जानकारी दिए।

सङ्घका अध्यक्ष सिंहले सङ्घले नेपालका कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पतालले चिकित्सकसहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताए। उनले यो सम्झौताले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने बताए। उनले अस्पताल परिवारलाई धन्यवादसमेत दिए।

सङ्घले नेपालमै पहिलोपटक चितवन मेडिकल कलेजसँग यस्तो सम्झौता गरेको अध्यक्ष सिंहले बताए। नेपालका जुनसुकै ठाउँमा रहेर पनि सङ्घले उपलब्ध गराएको परिचयपत्रसहित उपचारका लागि आएमा यो सुविधा उपयोग गर्न पाइने सिंहको भनाइ छ।

यो सम्झौता आगामी साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ। प्रमुख प्रशासक देवकोटाले नेपालको मध्यभागमा रहेर अत्याधुनिक उपकरणसहित अतिविशिष्ट सेवासमेत दिँदै आएको अस्पतालप्रति धेरैको विश्वास बढेको बताए। आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र सरलीकृत गर्दै उत्कृष्ट सेवा दिँदै जाने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रतिक्रिया