मिसेस एण्ड मिस गुरुङ २०२२ को अडिसन हुँदै


काठमाडौं – यस वर्ष पनि ‘मिसेस एण्ड मिस गुरुङ २०२२’ आयोजना हुने भएको छ। ४ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको एस के इन्टरटेनमेन्ट प्रालिले ‘मिसेस एण्ड मिस गुरुङ -२०२२’ को अडिसन यही जेठ २२ गते आइतबार हुने आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन्।

उक्त प्रतियोगिताको विजेताले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियो लगायतमा समेत सहभागी हुन पाउने आयोजक एस के इन्टरटेनमेन्ट प्रालिले जनाएको छ।

गुरुङ जातिको कला संस्कृति वेशभूषा, रीतिरिवाज एवम रहनसहन उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यावसायिक महिला दिदीबहिनीमार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तरराष्ट्रिय स्तरमा समेत प्रवर्द्धन र सामाजिकीकरण गर्न गत ३ वर्षदेखि आयोजना गरिँदै आएको मिसेस एण्ड मिस गुरुङ २०२२ सिजन-३ समग्र जनजातिको प्रतिनिधिमूलक सौन्दर्य प्रतियोगिता हो।

प्रतियोगिताका लागि छानिने प्रतियोगीहरूलाई एक महिना विशेष प्रशिक्षण दिइनेछ। नेपालका ख्यातिप्राप्त चर्चित फेसन कोरियोग्राफरहरूले प्रतिस्पर्धीहरूलाई सञ्चार दक्षता, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिनेछन्।

प्रशिक्षणका क्रममा प्रतिस्पर्धीहरूलाई फिटनेस, योग, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लासलगायत विभिन्न गतिविधिमा समेत सहभागी गराइनेछ। प्रतियोगीहरूले आफूले सिकेको ज्ञानलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मविश्वास बढाएर भोलिका दिनमा त्यो ज्ञानको उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउँछिन्।

एस के इन्टरटेनमेन्ट प्रालिको अध्यक्ष युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ महिला सशक्तीकरणको एक दरिलो आवाज हुन्। सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै लाखौँ महिला दिदीबहिनीको मन जित्न सफल युवा व्यक्तित्व हुन् उनी। जनजाति महिला दिदीबहिनीलाई आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गर्दै उनीहरूको क्षमता र व्यक्तित्व उजागर गर्नमा उनको ठूलो योगदान रहेको छ।

यो सौन्दर्य प्रतियोगिताले विवाहित गुरुङ नारी, युवायुवतीबीच व्यक्तित्व विकास र उनीहरूका प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा आफू विश्वस्त रहेको तामाङले बताइन्। प्रतियोगितामा सहभागी हुन चाहनेले काठमाडौंको सामाखुसीस्थित एस के इन्टरटेनमेन्ट प्रालिको कार्यालयमा सम्पर्क राख्न सकिने जानकारी तामाङले दिइन्।

प्रतिक्रिया