स्थानीय तहको निर्वाचन : म्याग्दीमा मतदान अधिकृतहरुलाई तालिम दिइँदै


म्याग्दी – स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि म्याग्दीमा तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई शनिबारदेखि बेनीमा तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

‘धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका पुरै, रघुगङ्गाको ४, ५, ६, ७ र ८ का मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगङ्गाको १, २ र ३ नम्बर वडाका अधिकृतलाई आइतबार तालिम सञ्चालन गर्दछौँ,’ उनले भने ।

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ मतदाता छन् । दुई सय पैँतिस पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदान र सहायक मतदान अधिकृत नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ।

प्रतिक्रिया