निर्वाचनको तयारी अन्तिम चरणमा


कैलाली – यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ ।

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,’ उनले भने, ‘मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गर्न लागिएको छ ।’

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्ति पत्र दिई मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित खटाउन लागिएको हो ।

कैलालीका सबै १३ पालिकाका २३६ मतदान स्थलमा व्यवस्था गरिएका ६१९ मतदान केन्द्रका लागि ६१९ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाइएको छ । पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र सो भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ।

निर्वाचनको मौन अवधि यही वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुन लागेको पनेरुले जानकारी दिनुभयो । निर्वाचनको थोरै दिन बाँकी रहँदा प्रत्याशीहरु मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको छ ।

प्रतिक्रिया