पश्चिमा देशको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढायाे : रुस


मस्काे – रुसले युक्रेन मामिलामा पश्चिमा देशहरूको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढेको बताएको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनलाई उस्काउने, भड्काउने र हतियार दिने पश्चिमा देशको मनाेवृत्तिले तेस्रो विश्व युद्धको खतरा वास्तविकतातर्फ उन्मुख भएको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

पश्चिमा देशले युक्रेनलाई रुससँग शान्ति वार्ता गर्नबाट रोकेको, अत्याधुनिक हतियार दिइरहेको र रुसविरुद्ध ठूला सञ्चारमाध्यम प्रयोग गरेर भ्रम छरिरहेको लाभरोभको आरोप छ ।

रुसको आक्रमणको प्रतिरक्षा गर्न र युक्रेनको मनोबल बढाउन भन्दै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का सदस्य देशका केही राष्ट्र प्रमुख र अमेरिकी विदेशमन्त्रीको टोलीले युक्रेन भ्रमण गरिसकेका छन् ।

यसैबीच अमेरिकाको आग्रहमा जमर्नीमा आज ४० वटा देश सहभागी भएर सुरक्षा सम्मेलन गर्दैछन् । रुसले युक्रेनमा आक्रमण थालेको २ महिना वितिसकेपनि युक्रेनले अनपेक्षित रुपमा प्रतिरक्षा गर्न सफल भएको र रुसले अपेक्षित सफलता हात पार्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया