होर्मुज नजिकै भारतीय तेल ट्यांकरमा अमेरिकी आक्रमण, दुई जनाको मृत्यु


काठमाडौं-  होर्मुज जलडमरूमध्य नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ मा भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने एक प्रमुख इन्जिनियर अझै बेपत्ता रहेका छन्।

भारतीय नाविकहरूको संगठन फर्वार्ड सीमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवका अनुसार जहाजसँग हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन। प्राप्त विवरणअनुसार दुई भारतीय नाविकको मृत्यु भइसकेको पुष्टि भएको छ भने एक जना भारतीय प्रमुख इन्जिनियर अझै सम्पर्कविहीन छन्।

मृत्यु हुनेमा डेक क्याडेट आदित्य शर्मा र इन्जिन फिटर शिवानन्द चौरसिया रहेको पहिचान गरिएको छ। बेपत्ता हुनेमा प्रमुख इन्जिनियर पटनाला सुरेश रहेको बताइएको छ। उनको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

यादवले अमेरिकी नौसेनाको भूमिकामाथि प्रश्न उठाउँदै जहाजमा भारतीयसहित अन्य विदेशी नागरिकको उपस्थिति रहेको जानकारी अमेरिकी पक्षलाई पहिले नै रहेको दाबी गरेका छन्। उनका अनुसार जहाजले कुनै निर्देशन नमान्दा नियन्त्रणमा लिन सकिने विकल्प हुँदाहुँदै पनि आक्रमण गरिएको हो।

यसअघि भारतको विदेश मन्त्रालयले ओमानको तट नजिक भएको घटनाको निन्दा गरिसकेको छ। मन्त्रालयका अनुसार जहाजमा रहेका २४ भारतीयमध्ये २१ जनालाई सुरक्षित उद्धार गरिएको छ भने तीन जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

भारतीय दूतावासले ओमानका अधिकारीहरूसँग समन्वय गर्दै खोज तथा उद्धार अभियानको निगरानी गरिरहेको जनाएको छ। घटनापछि समुद्री क्षेत्रमा तनाव बढेको बताइएको छ।

प्रतिक्रिया