अमेरिकी हमलापछि इरानले बन्द गर्‍यो हर्मुज जलमार्ग


काठमाडौं- इरानको सर्वोच्च संयुक्त सैन्य कमान्डले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रहरूमा नयाँ चरणको हवाई हमला गरेपछि इरानले उक्त कदम चालेको हो।

इरानी सैन्य मुख्यालयले जारी गरेको वक्तव्यअनुसार हर्मुज जलमार्गबाट तेल ट्यांकर, व्यापारिक जहाज तथा अन्य सबै प्रकारका जलयात्रुहरूको आवागमनमा प्रतिबन्ध लगाइएको छ। साथै उक्त मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई निशाना बनाएर आक्रमण गरिने चेतावनी पनि दिइएको छ।

इरानले क्षेत्रीय असुरक्षा बढेको र अमेरिकाले आफ्नो भूमिमाथि आक्रमण जारी राखेकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ। इरानी पक्षले हर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्म बन्द रहने संकेत दिएको छ।

हर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिन्छ। विश्वका ठूलो परिमाणमा तेल तथा ग्यास ढुवानी यही मार्ग हुँदै हुने भएकाले इरानको निर्णयले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ। घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ।

यद्यपि अमेरिकी सेनाले भने हर्मुज क्षेत्रमा अझै पनि केही व्यावसायिक जहाजहरूको आवागमन जारी रहेको जनाएको छ।

प्रतिक्रिया